असार १८ गते । थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई मंगलबार निलम्बन गरेको छ । पूर्वकम्बोडियाली नेता हुन सेनसँग भएको फोनवार्ता ‘लिक’ भएपछि सिनावात्रालाई पदबाट राजीनामा दिन चर्को दबाब परिरहेका बेला अदालतले निलम्बन गरेको छ । सिनावात्राले भने उक्त फोनवार्ताको उद्देश्य ‘देशकै भलाईका लागि भएको’ दाबी गर्दै मंगलबार जनतासमक्ष माफी मागेकी छन् । ‘मेरो आफ्नै स्वार्थका लागि फोन गर्ने कुनै मनसाय नै होइन,’ उनले भनेकी छन्, ‘अराजकताबाट कसरी बच्ने, लडाइँबाट कसरी बच्ने र बढीभन्दा बढी जनताको ज्यान कसरी जोगाउने भन्नेबारेमा मात्र सोचेकी थिएँ, यदि त्यो फोनवार्तालाई ध्यानपूर्वक सुन्ने हो भने त्यसमा मेरो कुनै खराब मनसाय थिएन भन्ने बुझ्न सकिन्छ ।’
प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा
थाइल्यान्डको कम्बोडियासँग लामो समयदेखि क्षेत्रीय विवाद चलिरहेको छ । गत मे महिनामा सीमामा झडप हुँदा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो । ‘लिक’ भएको उक्त फोनवार्तामा सिनावात्राले पूर्वकम्बोडियाली नेतालाई ‘काका’ भनेर सम्बोधन गरेको र थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भन्दै आलोचना गरेको पाइएपछि जनस्तरमा आक्रोश बढेको थियो । त्यसपछि उनलाई प्रधानमन्त्री पदबाट बर्खास्त गर्नुपर्ने भन्दै अदालतमा मुद्दा परेको हो । रुढिवादी सांसदहरूले उनलाई कम्बोडियासामु झुकेको र सेनालाई कमजोर बनाएको आरोप लगाउँदै मन्त्रीहरूमा ‘स्पष्ट इमानदारिता’ र ‘नैतिक मापदण्डहरू’ आवश्यक पर्ने संवैधानिक प्रावधानहरू उल्लंघन गरेको जिकिर गर्दै आएका छन् । संवैधानिक अदालतले सीमा विवादका क्रममा सिनावात्राले मन्त्रिपरिषद्को नैतिकता उल्लंघन गरेको हो वा होइन भन्ने विषय विचाराधीन रहेकाले उक्त मुद्दाको किनारा नलाग्दासम्मका लागि प्रधानमन्त्रीबाट निलम्बनको आदेश दिएको हो । उक्त मुद्दामा उनलाई निलम्बन गर्नुपर्ने रायमा दुईका विरुद्ध सात न्यायाधीशले पक्षमा मतदान गरेका थिए ।