फागुन ६ गते । जिल्लाको सदरमुकाम फुङलिङदेखि सिस्ने सिंवा हुँदै ओलाङचुङगोला जोड्ने सिस्ने सडक खण्ड मर्मतका क्रममा सडक बन्द हुने भएको छ । मोटरसाइकलसमेत चलाउन नसकिने र जुनसुकै बेला दुर्घटना हुने जोखिममा रहेको सडक फागुन ६ देखि १० सम्म मर्मत गरिने गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिए । लिम्बुका अनुसार पहरा फुटाएर सडक चौडा पार्नुपर्ने भएकाले मंगलबार बिहान ९ देखि हरेक दिन अपराह्न ५ बजेसम्म यातायात बन्द हुनेछ । यस सम्बन्धी गाउँपालिकाले फागुन ५ गते सार्वजनिक सूचना जारी गरेको छ । अरु कुनै विकल्प नभएकाले बिहान-बेलुका यातायात चल्न दिएर दिउँसो काम गर्नुपर्ने भएको लिम्बूको भनाइ छ ।
तमोर करिडोरअन्तर्गतको यो सडक खण्डमा पहरो विस्फोट गराई सडक फराकिलो बनाउनुपर्ने भएको छ । यही मार्ग भएर यातायात सञ्चालन गरिरहेका दिलकुमार लिम्बू खाल्टा र धुलोले सडकको बीचमा पुगेपछि गाडी फस्ने र निकाल्न कठिन हुने गरेको अनुभव सुनाउँछन् । ‘बीचमा पुगेपछि गाडीको स्टार्ट बन्द भएर घुम्न थाल्छ,’ उनले भने, ‘थोरै मात्रै सावधानी अपनाउन नसके सिधै तमोर नदीमा खस्ने जोखिम छ ।’ उनका अनुसार सदरमुकामदेखि चीनको बोर्डर तिप्तालासम्मको सडकमा यो सबैभन्दा बढी जोखिममा रहेको सडक हो । फक्ताङलुङ जानेले सुकेटार, गढीडाँडा सडक प्रयोग गर्न सक्नेछन् । यो सडक लामो र घुमाउरो भएकाले यातायात सञ्चालकले सिंवा-सिस्ने सडक प्रयोग गर्दै आएका थिए । निर्माणको समयमा पैदल यात्रा गर्ने वैकल्पिक पैदल मार्ग पनि नभएको स्थानीय बताउँछन् ।