चैत २७ गते । जिल्लाको फक्ताङलुङ गाउँपालिकाले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियान प्रभावकारी बनाउन निर्देशन दिएको छ । शिक्षक,अभिभावक र जनप्रतिनिधि सबै मिलेर भर्ना अभियान प्रभावकारी बनाउन निर्देशन दिएको हो । कोही पनि विद्यालय बाहिर हुन नदिने गाउँपालिकाको योजना छ । यसैबिच विद्यालयलाई योजना सञ्चालनमा विद्यालयलाई रोक लगाएको छ ।
गाउँपालिका तथा विभिन्न निकायबाट प्राप्त बजेट कार्यान्वयन गराउन र त्यसको कागजात मिलाउन शिक्षकहरू हिँड्दा बालबालिकाको पढाईमा असर परेको भन्दै रोक लगाइएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिए । विद्यालयले निर्माण, खरिद, जस्ता योजना विद्यालयमार्फत नगराई आफ्नो वडाका टोल विकास संस्था वा गाउँपालिका मार्फत कार्यान्वयन गराउन निर्देशन दिएको विद्यालयका प्रधानाध्यापकले बताएका छन् । विद्यालयमा पर्याप्त मात्रामा शिक्षक नभएको र भएका शिक्षक पनि यसरी हिँड्दा बालबालिकाको पढाईमा गम्भीर असर परेको बुझाइ अध्यक्षको छ । योजना सञ्चालनको कागजात मिलाउन प्रधानाध्यापकहरू विभिन्न निकायमा धाउँदा विद्यालयमा अन्य कामहरु पनि प्रभावित बनेका छन् ।
फक्ताङलुङ गाउँपालिकाले बैशाख २ देखि एक सातासम्म भर्ना अभियान सञ्चालन गर्न र अभिभावकसँग छलफल गर्न पनि परिपत्र गरेको छ । ‘आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थी तथा अभिभावकको घरघरमा पुगेर अन्तरक्रिया गर्न, विद्यालय क्षेत्रका टोलमा गएर बालकालिका विद्यालय पठाउन अभिभावकलाई मनाउन र त्यसको फोटोसहितको प्रतिवेदन पठाउन निर्देशन आएको छ,’ रानी आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेम खतिवडाले भने ।