जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरिक्षक वेदप्रसाद गौतम नेतृत्वको टोली घुन्सामा ।
सङ्गीता कार्की, मंसिर १६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई दृष्टिगत गरी ताप्लेजुङका प्रहरी प्रमुख नेतृत्वको टोलीले उच्च हिमाली क्षेत्रका बासिन्दासँग छलफल तथा अन्तरक्रिया गरेको छ । सिमा क्षेत्रको अनुगमन तथा निर्वाचन लक्षित छलफलका लागि फक्ताङलुङ गाउँपालिका-६ लेलेपको ५२ सय मिटर उचाइको लोनाकसम्म पुगेको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । सोमबार मंसिर १५ गते सदरमुकाम आइपुगेको टोलीमा नौ जना प्रहरी कर्मचारी सहभागी थिए ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरिक्षक वेदप्रसाद गौतम नेतृत्वको टोली पाङ्पेमा ।
हिमाली क्षेत्रका नागरिक मतदानका लागि उत्साही रहेको पाइएको गौतमले जानकारी दिए। गौतमले भने,‘निर्वाचनको बेला हिउँ पर्लाकी भन्नेचाहिँ चिन्ता रहेछ अन्यथा मतदातामा उत्साह देखियो ।’ टोलीले वर्तमान सुरक्षा चुनौती, विदेशी पर्यटकको गतिविधिका विषयमा पनि निगरानी गरेको छ । कंञ्चनजंघा हिमाल प्रस्थान गर्ने मुख्य पैदलमार्ग नै भएकाले भुगोल,स्थानियबासी र पर्यटकको विषयमा फिल्डमै पुगेर जानकारी संकलन गरेका हुन् । हिमाली जडीबुटी तथा वन्यजन्तुको अवैध ओसारपसारका विषयमा पनि स्थानीयसँग सूचना सङ्कलन गरेको छ। फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू, लेलेपका वडाध्यक्ष पेम्वाटाँसी शेर्पा, कार्यपालिका सदस्य मिङमाडण्डु शेर्पा लगायत जनप्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया समेत भएको थियो । हतकडी, लाठी, एसएलआर लगायतका हतियार सहितको प्रहरीले यसलाई लङ रुट पेट्रोल गस्ती भनेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरिक्षक वेदप्रसाद गौतम नेतृत्वको टोली हिमाली बस्तीमा सामाजिक सुरक्षा भत्ता वितरणमा सहभागी ।