setoveda logo
४ वैशाख २०८३, शुक्रवार

फिफा विश्वकप २०२६ का खेल ५० देशका १७० रेफ्रीले सञ्चालन गर्ने

चैत २९, २०८२, आइतवार

चैत २९ गते । फिफाले सन् २०२६ मा आयोजना हुने विश्वकपका लागि रेफ्रीको सूची सार्वजनिक गरेको छ। तीन वर्षको लामो छनोट प्रक्रियापछि ५० वटा देशबाट उत्कृष्ट रेफ्री छानिएका छन्। इतिहासमै पहिलो पटक ४८ टोलीबीच १०४ वटा खेल हुने भएकाले फिफाले अहिलेसम्मकै ठूलो टोली छानेको छ। जसमा ५२ रेफ्री, ८८ सहायक रेफ्री र ३० भिडियो म्याच अफिसियल गरी कुल १७० जना रहेका छन्। रेफ्रीहरूको छनोट उनीहरूको विगत ३ वर्षको प्रदर्शन, शारीरिक फिटनेस र मानसिक क्षमताको आधारमा गरिएको हो। फिफा रेफ्री समितिका अध्यक्ष पियरलुइजी कोलिनाले यी रेफ्री विश्वकै सर्वोत्कृष्ट रहेको बताएका छन्।

रेफ्री

रेफ्री

कतार विश्वकप २०२२ बाट सुरु गरिएको चलनलाई निरन्तरता दिँदै यसपटक पनि ६ जना महिला खेल अधिकारीहरू छनोट गरिएको छ। यसपटकको विश्वकपमा प्रविधिको भरपुर प्रयोग हुनेछ। पहिलो पटक फ्यानहरूले रेफ्रीको शरीरमा जडान गरिएको क्यामेरा बाट मैदानको दृश्य हेर्न पाउनेछन्। एआई प्रविधि प्रयोग गरेर रेफ्री दौडिँदा पनि भिडियो नहल्लिने र प्रस्ट देखिने बनाइनेछ।

खेलमा समय खेर फाल्ने प्रवृत्तिलाई कम गर्न र खेलको गति बढाउन नयाँ नियमहरू लागू गरिनेछ। यसका साथै गोल(लाइन प्रविधि र आधुनिक ुसेमी(अटोमेटेड अफसाइडु प्रविधिको पनि प्रयोग हुनेछ। सबै छानिएका रेफ्री मे ३१ मा अमेरिकाको मियामीमा भेला हुनेछन्। त्यहाँ १० दिनसम्म उनीहरूलाई विशेष प्रशिक्षण दिइनेछ। भिडियो रेफ्री भने पछि डलास जानेछन्, जहाँ उनीहरूको मुख्य केन्द्र रहनेछ। फिफाका अनुसार रेफ्री शारीरिक र मानसिक रूपमा फिट राख्न डाक्टर, फिजियोथेरापिस्ट र मानसिक स्वास्थ्य विशेषज्ञहरूको टोलीले सहयोग गर्नेछ। विश्वकप २०२६ अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ।