setoveda logo
४ वैशाख २०८३, शुक्रवार

एसईई नतिजा २०८१ः ९७१ जनाले ल्याए चार जीपीए, सामुदायिक र निजीको उत्तीर्ण प्रतिशत सार्वजनिक गरिएन

असार १३, २०८२, शुक्रवार

असार १३ गते । २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ९७१ जनाले चार जीपीए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये ९७१ जनाले चार जीपीए ल्याएका हुन् । तर बोर्डले ‌चार जीपीए ल्याउनेको संख्या भने औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।

पत्रकार सम्मेलन

पत्रकार सम्मेलन

नतिजाअनुसार नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये जीपीए ३.६ देखि ४ सम्म ४८ हजार १७७ जनाले ल्याए । जीपीए ३.२ देखि ३.६ सम्म ८१ हजार ३८५ जना, जीपीए २.८ देखि ३.२ सम्म ८९ हजार १२४ जना, जीपीए २.४ देखि २.८ सम्म ४८ हजार ४७९ जनाले ल्याएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । त्यसैगरी, जिपिए २.० देखि २.४ सम्म ४१ हजार २६ जना, जीपीए १.६ देखि २.० सम्म ८ जना वर्गीकृत भएको बोर्डका अध्यक्ष शर्माले बताए । १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । अवर्गीकृत परीक्षार्थीको संख्या १ लाख ६७ हजार ५९७ रहेको छ ।

सामुदायिक र निजीको उत्तीर्ण प्रतिशत सार्वजनिक गरिएन

राष्ट्रिय परीक्षा बोर्डले सामुदायिक र निजी विद्यालयबाट कति प्रतिशत विद्यार्थी उत्तीर्ण गरे भन्ने पनि सार्वजनिक गरेको छैन । शुक्रबार सार्वजनिक गरिएको नतिजा समग्रमा मात्र आएको बोर्डका अध्यक्ष शर्माले बताए । ‘सामुदायिक र निजीको उत्तीर्ण प्रतिशत निकालेका छैनौं । आज समग्रमा निकालिएको हो,’ अध्यक्ष शर्माले भने । केही दिनपछि सामुदायिक र निजीको उत्तीर्ण प्रतिशत निकाल्ने उनले बताए । गत वर्षभन्दा यो वर्षको नतिजामा भने सुधार आएको छ । २०८० को एसईईमा ४७ दशमलब ८६ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएकोमा थिए । यो वर्ष संख्या बढेर ६१.८१ प्रतिशत पुगेको छ ।

गत वर्षभन्दा अहिले १३.९५ प्रतिशतले नतिजामा सुधार आएको छ । गत वर्ष कमजोर नतिजा आएपछि सरकार देखि संसद्सम्म बहसको विषय बनेको थियो । सबै पक्षको पहललले नै नतिजामा सधुार आएको निष्कर्ष बोर्डको छ । ‘स्थानीय पालिकामा यो यो विषयमा कमजोर छ । नतिजा सुधार गर्न शिक्षण सिकाइलाई राम्रो बनाउन निर्देशन दिएका थियौं,’ अध्यक्ष शर्माले भने, ‘सुधारका लागि स्थानीय सरकारदेखि शिक्षक, प्रधानाध्यापक, राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्र विकास केन्द्र, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, अभिभावक सबैबाट मिहिनेत भयो ।’

एसईई नतिजास् गणितमा सबैभन्दा बढी विद्यार्थी ननग्रेडेड

विद्यार्थीमा पनि पढे मात्र उत्तीर्ण भइन्छ भन्ने विश्वास बढेको निचोड बोर्डको छ । ‘विद्यार्थीले पढ्नु पर्छ । शिक्षकले पढाउनु पर्छ । अरुले व्यवस्थापन गर्नुपर्छ,’ अध्यक्ष शर्माले भने, ‘शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि अनलाइन कक्षा चलाएको थियो । यसले पनि नतिजा सुधारमा सहयोग मिलेको छ ।’ नतिजा बढेपनि अझैं शतप्रतिशत पुर्‍याउनु पर्ने बोर्डको धारणा छ । ‘अझ यतिले पुग्दैन । आगामी दिनमा स्थानीय पालिका र विद्यालयले मिहिनेत गरेर नतिजा बढाउने अपेक्षा छ,’ शर्माले भने । गत वर्ष नतिजा कमजोर भएपछि बढाउनका लागि प्रधानमन्त्री केपी ओलीले सबै निकायलाई निर्देशन समेत दिएका थिए ।

एसईईमा ४८ हजार विद्यार्थीले ल्याए ३.६ भन्दा धेरै जीपीए

यो वर्षको एसईईको परीक्षा २०८१ चैत ७ गतेदेखि चैत १९ गतेसम्म भएको थियो । जसमा सामुदायिक, संस्थागत, गुरुकुल, गुम्बा, मदर्सामा अध्ययनरत विद्यार्थी सहभागी भएका थिए । परीक्षा व्यवस्थापनका लागि नेपालमा २०७९ र जापानमा १ केन्द्र गरी २०८० केन्द्रबाट विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षा सञ्चालन गर्न केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक, कर्मचारी र सुरक्षाकर्मीसहित ७७ हजार ८१७ जनशक्ति परिचालन गरिएको थियो ।