२०८२ साउन १४ गते जारी गरेको राजपत्रमा प्रकाशित
साउन १९ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन तोकिएको उमेरको सीमासम्बन्धमा चार वर्षअघि हटाइएको प्रावधान फेरि लागु गरिएपछि विद्यार्थी,अभिभावक र विद्यालय तनावमा थियो । शिक्षा नियमावलीको दफा ७८ को उपदफा ६ मा १४ वर्ष पूरा नभएका विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समावेश नगरिने उल्लेख भएपछि उमेर नपुग्नेको हकमा अन्यौल थियो ।
तर अब यो तनाव र अन्यौलबाट विद्यार्थी मुक्त हुने भएका छन् । सरकारले एक पटकको लागि उमेर सच्याउने मौका दिएको छ । २०८२ साउन १४ गते जारी गरेको राजपत्रमा प्रकाशित सूचनाअनुसार जन्मदर्तामा मिति,नाम र थर सच्याउन सकिने भएको छ । विद्यार्थीले सम्बन्धित वडा कार्यालयमा पुगेर उमेर जन्मदर्ता प्रमाणपत्रको त्रुटी सच्याउनुपर्ने उल्लेख छ । कुनै विद्यार्थीले कक्षा ८ उर्तिण गरेको छ तर एसइई लेख्न १४ वर्ष उमेर पुग्दैन भने वडा कार्यालयबाट जन्मदर्ता सच्याउने र अध्यन गरेको विद्यालयको सिफारिससहित ग्रेडसिट लैजाने र सम्बन्धित स्थानिय तहबाट कक्षा ८ शैक्षिक प्रमाणपत्र बुझ्न सकिन्छ । यसैबिच अहिले जुन कक्षामा अध्यन गरिरहेका विद्यार्थीले भविष्यमा एसइई परीक्षा लेख्ने बेला १४ वर्ष नपुग भएको पाइए तत्काल सच्याउन वा कक्षा दोहोर्याउनुपर्ने विकल्प छ ।
स्मरण रहोस्,माध्यमिक शिक्षा कक्षा १२ सम्म भएको भन्दै २०७८ सालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइईमा सहभागी हुने उमेरको सीमा हटाएको थियो । त्यतिबेला कक्षा १२ को परीक्षामा सहभागी हुनाका लागि मात्रै १४ वर्ष पूरा भएको भए पुग्ने तर एसइईमा जति वर्षका विद्यार्थी पनि सहभागी हुन पाउने व्यवस्था गरिएको थियो ।