setoveda logo
२१ जेठ २०८३, बिहिवार

एमालेको ११औँ महाधिवेशन आजदेखिः उद्घाटन समारोह आकर्षक बनाउने तयारी

मंसिर २७, २०८२, शनिवार
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन

मंसिर २७ गते । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुर सल्लाघारीको खुला चौरमा गर्ने तयारी छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सबै तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिनुभयो । उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा दुई सय भन्दा बढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ । महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका विभिन्न १६ वटा पार्टीका अध्यक्ष एवम् प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ ।

लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई एमालेले मुख्य स्वरुपमा राखेर उपत्यकाका महत्त्वपूर्ण विभिन्न मन्दिर एकै ठाउँ देखाउने गरी ठूलो र कलात्मक मञ्च निर्माण गरेको जनाएको छ । टाढासम्म रहेका सहभागीले वक्ताले बोलेको प्रस्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा ‘एलइडी स्क्रिन’ राखिएका छन् । तीन किलोमिटर परसम्म सुन्न सकिने एक सय १५ वटा उच्च गुणस्तरका ‘साउन्ड सिस्टम’ जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवम् विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सी राखिएको एमालेले जनाएको छ ।

महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालका अनुसार कलाकारले मञ्चमा नै राष्ट्रिय एकताको प्रतीक झल्काउने सांगीतिक प्रस्तुति दिने व्यवस्था गरिएको छ । महाधिवेशन उद्घाटनमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ । पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा शुरूमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने तयारी गरिएको छ । महाधिवेशन उद्घाटनसत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने गाडीका लागि कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठाघरमा रहेको नागरिक उडड्यन प्राधिकरणको खाली चौरमा तथा काभ्रे हुँदै आउने गाडीका लागि जगातीको भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएको छ ।-उज्यालो