साउन १३ गते । गत आर्थिक वर्ष २०८१ र ८२ मा २ खर्ब ३१ अर्ब ८ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । यो सँगै कुल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । २०८१ असारसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ थियो । यो अवधिमा नेपाली मुद्राको विनिमय दरको तुलनामा अमेरिकी डलरको भाउ अकासिँदा सार्वजनिक ऋणमा अतिरिक्त भार थपिँदै आएको छ । पछिल्ला महिनामा अमेरिकी डलर निरन्तर उकालो लागिरहेको तथा अन्य विदेशी मुद्राको भाउ पनि बढेकाले हरेक महिना सार्वजनिक ऋणको थप दायित्व बढिरहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत असार महिनाको प्रतिवेदनले देखाएको छ ।
प्रतिकात्मक तस्बिर
२०८१ असारदेखि गत असारसम्म नेपाली मुद्रा कमजोर भएकै कारण तिर्न बाँकी सार्वजनिक ऋणमा थप ६६ अर्ब ९३ करोड अतिरिक्त भार थपिएको प्रतिवेदनमा उल्लेख छ । २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ २।९७ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा गत वर्षको जेठसम्म नेपाली रुपैयाँ १.६६ प्रतिशतले अवमूल्यन भएको थियो । २०८२ जेठ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १ सय ३७.४४ पुगेको छ । २०८१ जेठ मसान्तमा उक्त विनिमय दर १ सय ३३.३६ रहेको थियो ।
विदेशी मुद्रासँग नेरुको विनिमय दरमा भएको परिवर्तनका कारण बाह्य ऋणको परिमाणमा फरक पर्ने गरेको छ । डलरको विनिमय दर घट्दा नेपाललाई लाभ हुन्छ भने बढ्दा हानि । २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा प्रायः विदेशी मुद्रासँग नेरु अवमूल्यन भएका कारण ५९ अर्ब १६ करोड रुपैयाँ बराबरको विदेशी विनिमय नोक्सानी भएको थियो । विनियम दर परिवर्तनका कारण पछिल्ला ७ आर्थिक वर्षमध्ये ४ वटामा घाटा रहेको छ भने बाँकी वर्षमा नाफामा छ ।- Ekantipur