setoveda logo
४ वैशाख २०८३, शुक्रवार

‘ढुकुर जोडी’ खोज्दै सुन्दरहरैँचा

जेठ ७, २०८२, बुधवार

जेठ ८ गते । ढुकुरलाई प्रेमको प्रतिक मानिन्छ । प्रेमको प्रतिक मानिने ढुकुरको नाम जोडेर मोरङको सुन्दहरैँचा नगरपालिकाले उत्कृष्ट दम्पतीको खोजी सुरु गरेको छ । समाजमा मिलेर बसेका उत्कृष्ट दम्पतीलाई सम्मानका लागि सुन्दरहरैँचाले ढुकुर जोडीको खोजी सुरु गरेको हो । सुन्दरहरैँचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईंका अनुसार, पालिकाले हरेक वडाबाट १–१ उत्कृष्ट दम्पतीलाई नगदसहित ‘ढुकुर जोडी’ सम्मान प्रदान गर्नेछ । सुन्दरहरैँचामा १२ वटा वडा छन् ।

हरेक वडाका उत्कृष्ट ढुकुर जोडीको तस्वीर वडा कार्यालयमा १ वर्षसम्म राखिने उनले बताए । ‘समाजमा परिवार विघटनका घटनाहरू बाहिर आइरहेका छन्, राम्रा जोडी छन् भन्ने सन्देश दिनका लागि ढुकुर जोडी खोजी गर्दैछौं,’ उनले भने, ‘परिवारमा राम्रो सेवा गर्ने उत्कृष्ट दम्पतीलाई पुरस्कृत गर्ने योजना हाम्रो हो ।’ पारिवारिक मेलमिलाप र सभ्य परिवार निर्माणका लागि पालिकाले पहिलो पटक यो अभियान सञ्चालन गरेको उनले बताए ।

नगरपालिकाले सूचना जारी गर्दै उक्त कार्यक्रमका लागि निवेदन पेस गर्नका लागि सूचना जारी गरेको छ । उक्त सूचनामा न्यायिक समितिमा पती पत्नीबीचको झगडाका मुद्दा दैनिक बढ्दै आएपछि यस्तो कार्यक्रम गर्न लागिएको उल्लेख गरिएको छ । ‘पछिल्लो समयमा सुन्दरहरैंचा नगरपालिकाको न्यायिक समितिमा पती पत्नी बीचको झै–झगडा, इज्जत आमद अनुसार खान लाउन पाउँ, लैंगिक हिंसा, गाली बेईज्यती सम्बन्धी मुद्दा दिन प्रतिदिन बढ्दै आएको हुदाँ त्यस्ता मुद्दालाई न्युनीकरण गर्नका लागि‘’, सूचनामा भनिएको छ ।

सम्बन्ध विच्छेद तथा लैंगिक हिंसाका घटनाहरु न्युनीकरण गर्दै जानुपर्छ भन्ने मूल नाराका साथ यो कार्यक्रम राखिएको नगरपालिकाले बताएको छ । ‘पारिवारिक सम्बन्ध कमजोर हुनेहरूलाई न्याय निरुपण गर्ने, अन्य हिसाबले काउन्सिलिङ गर्ने कुरा एउटा पक्ष भयो,’ उनले भने, ‘समाजमा राम्रो गर्नेलाई प्रोत्साहित गरियो भने कमिकमजोरी गर्नेमा पनि चेतना आउँछ भन्ने हिसाबले सुरु गरेका छौं ।’ निवेदन परेपछि मापदण्ड पूरा गर्ने जोडीका विषयमा नगरपालिकाको महिला तथा बालबालिका शाखाले अध्ययन गर्नेछ । अध्ययनपछि उत्कृष्ट जोडीलाई नगद, प्रशंसापत्रसहित सम्मान गर्ने योजना रहेको गुरागाईंले बताए ।