setoveda logo
४ वैशाख २०८३, शुक्रवार

बर्दिया राष्ट्रिय निकुञ्जमा ५औँ पटकको बाघ गणना शुरू

पुष १०, २०८२, बिहिवार
बर्दिया राष्ट्रिय निकुञ्जमा ५औँ पटक बाघ गणना गर्न शुरू

बर्दिया राष्ट्रिय निकुञ्जमा ५औँ पटक बाघ गणना गर्न शुरू

पुष १० गते । बर्दिया राष्ट्रिय निकुञ्जमा हिजोदेखि ५औँ पटक बाघ गणना गर्न शुरू गरिएको छ । निकुञ्जभित्र क्यामरा जडान गरेर बाघ गणना थालिएको वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द शर्माले बताउनुभयो । उहाँका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा बाघको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । त्यहाँ आठगुणाले बाघको सङ्ख्यामा वृद्धि भएको पाइएको हो ।ग

बाघको वृद्धिसँगै संरक्षणको चुनौति पनि उत्तिकै वृद्धि भएको छ । यद्यपि बाघ गणना शुरू भएकै दिन हिजो बर्दियाको बारबर्दिया नगरपालिका–१० बैदीको फेनापति सामुदायिक वनमा पार्वती डाँगीलाई बाघले आक्रमण गर्दा ज्यान गएको छ । नेपालले एक दशकमा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा बढी बाघमा वृद्धि भएको सचिव शर्माको भनाइ छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिएको जानकारीअनुसार अहिले नेपालमा ३ सय ५५ बाघ छन्, जसमा बर्दियामा मात्रै झन्डै १ सय २५ रहेको छ । पछिल्लो समय २१ वटा पाटेबाघ मरेको छ । बाढीपहिरो, चोरी सिकारी, आपसमा लड्नु र प्रकृतिक कारणले निकुञ्ज र सामुदायिक वनमा रहेका पाटेबाघ मरेको बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत अशोक रामले बताउनुभयो ।

बाघको सङ्ख्या विस्तारका लागि संरक्षण, सुरक्षा, आवास विस्तार र सिकार नियन्त्रणलाई प्रमुख कारण मानिएको छ । बाघको सङ्ख्या वृद्धि हुनासाथ मानव–वन्यजन्तु द्वन्द्व पनि बढेको छ । निकुञ्जको तथ्याङ्कअनुसार तीन आर्थिक वर्षमा बर्दियामा ३ सय २२ वन्यजन्तु मरेको छ र ४ सय २३ वन्यजन्तुको उद्धार गरिएको छ । वन्यजन्तु मरेकामध्ये ठूलो हिस्सा गाडी दुर्घटना, तारजालीमा अड्किनु, कुकुरको आक्रमण, प्राकृतिक कारण, रोग, विद्युत् र आपसी द्वन्द्वका कारण भएको पाइएको छ ।