माघ ९ गते। यूरोपेली च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार पुनरागमन जित दर्ता गरेको छ । बार्साले पोर्चुगिज क्लब बेनफिकालाई उसैको मैदानमा ५(४ गोलअन्तरले हराएको हो । खेलमा ४-२ ले पछि परेको अवस्था उल्टाउँदै बार्सिलोनाले शानदार पुनरागमन गर्यो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की र राफिन्हाले दुई-दुई गोल गरे भने एरिक गार्सियाको नाममा एक गोल रह्यो । बेनफिकाका लागि भान्जेलिस पाभिल्डिसले पहिलो हाफमै ह्याट्रिक गरे पनि व्यर्थ रह्यो ।
खेलको दोस्रो मिनेटमा नै बेनफिकाले अग्रता लिएको थियो । पाभिल्डिसले गोल गर्दै सुरूवाती अग्रता दिलाएका थिए । १३औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि खेल बराबरीमा आयो । २२औं मिनेटमा फेरि पाभिल्डिसको गोलमा बेनफिका खेलमा अगाडि आयो । ३०औं मिनेटमा उनले पेनाल्टीमार्फत ह्याट्रिक नै पूरा गर्दा पहिलो हाफमा बार्सिलोना ३-१ ले पछाडि रह्यो ।
दोस्रो हाफको ६४औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे । त्यसको चार मिनेटमा आत्मघाती गोलमार्फत बेनफिका ४-२ को अग्रतामा पुग्यो । त्यसपछि बार्सिलोनाको पुनरागमन सुरू भयो । ७८औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गरे । ८६औं मिनेटमा एरिक गार्सियाले गोल गर्दै खेल ४-४ को बराबरीमा ल्याए । इन्जुरी समयको छैटौं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई उत्कृष्ट पुनरागमन जित दिलाए ।
च्याम्पियन्स लिग इतिहासमा ५-४ को अन्तरले खेलको नतिजा आएको यो पहिलोपटक हो । बार्सिलोनाले च्याम्पियन्स लिग वा यूरोपियन कपको कुनै पनि खेलमा २ गोलले पछाडि परेर पुनरागमन गर्दै खेल जितेको यो पहिलोपटक हो । ४ भन्दा बढी गोल व्यहोरेर पनि खेल जित्ने बार्सिलोना दोस्रो टोली हो । यसअघि २०१६ मा बोरुसिया डर्टमुन्डले लेगिया वार्सलाई ८-४ गोलअन्तरले हराएको थियो । गएराति नै भएका अन्य खेलहरूमा लिभरपुलले लिललाई २-१ ले हराउँदा एट्लेटिको मड्रिडले बायर्न लेभरकुसनलाई २-१ ले हरायो ।