माघ १७ गते । बन्दका कारण घर फर्कन नपाएका ३९ जना तिर्थयात्रीलाई विहिबार सशस्त्र प्रहरीले स्कटिङ गरि घर पठाएको छ । पाथीभरा दर्शनमा आएका झापा,सप्तरी,सिरहा र काठमाडौका तिर्थयात्रीलाई विहिबार दिउँसो स्कटिङ गरेर घर पठाएको हो । उनीहरु माघ १४ गते पाथीभरा दर्शनका लागि आएका थिए । माघ १५ गतेदेखि अनिश्चितकालिन यातायात बन्दका कारण सदरमुकाममै रहेका थिए ।
उनीहरुलाई काफ्लेपाटीबाट सुरक्षाकर्मीले स्कटिङ गरि सदरमुकाम ल्याएका थिए । सशस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक (डीएसपी)नरेश महर्जनले भने,‘मानवताको हिसाबले पनि सहयोग गर्नु थियो । त्यही भएर स्कटिङ गरेर पठायौ ।’ दर्शनार्थीको हकमा राज्य र आन्दोलनरत पक्षको बरावर दायित्व हो । दर्शनार्थीहरु बन्दपश्चात आएको नभई बन्द अगाबै आएका हुन् । सशस्त्र प्रहरीको गुल्ममा रहेको यात्रु सम्पर्क कार्यालयमा प्रहरीकै गाडीबाट दिउँसो १२ बजे लगेका थिए । गुल्मका मेडिकल टिमले उनीहरुको स्वास्थ्य परिक्षण समेत गरेको थियो । अधिकाँशलाई विहानको खाना र पानीको समेत व्यवस्था गरेको थियो । फुङलिङ नगरपालिका र नेपाल विद्युत प्राधिकरण शाखा कार्यालयको सवारी साधनमा काबेलीसम्म लगेको प्रहरी नायब उपरिक्षक महर्जनले बताए ।
सशस्त्र प्रहरीले फिदिममा पनि बेलुकीको खाना खुवाएर लैजान लागेको मण्डलले बताए । मण्डलले भने,‘विहानको खाना र काबेलीसम्म गाडीको व्यवस्था पनि गरिदिनुभयो । फिदिमस्थित सशस्त्र प्रहरीकै भान्सामा खाना खाने तयारी छ । राज्यप्रति गर्व महसुस हुुन्छ ।’ तीर्थयात्रीका अनुसार बन्दकर्तासँग गुनासो छैन् । बन्दकर्ताको जायज माग राज्यले तत्काल पुरा गर्नेमा आफूहरु आशावादी रहेको तीर्थयात्रीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधि एलिना दियाली र इन्सेक पूर्व जिल्ला प्रतिनिधि तथा पत्रकार देवराज गुरुङले तीर्थयात्रीको बारेमा बुधबारदेखि नै समन्वय गरेका थिए ।
प्रहरी नायब उपरिक्षक महर्जनले अलपत्र दर्शनार्थीलाई सम्पर्कका लागि समन्वय गर्न खबर गरेलगत्तै दर्शनार्थीहरु प्रहरीको सम्पर्कमा पुगेका हुन् । गुरुङले अनिल मण्डललाई तीर्थयात्रीहरुको तर्फबाट प्रतिनिधित्व गराएर बुधबार बेलुकी पनि बन्दकर्तासँग भेट गराई सहयोगको याचना गरेका थिए । यद्यपी बन्दकर्ताले यातायात बन्द गर्नु रहर नभई बाध्यता भएको बताएपछि गाडी चढिसकेकालाई ओर्लन अनुरोध गरेको थियो । प्रमूख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले तीर्थयात्रीलाई समन्वय गरि पठाउनु सुरक्षा निकायको डिउटी भएको बताए ।