setoveda logo
४ वैशाख २०८३, शुक्रवार

बालेन्द्र शाह (बालेन) को कसरी हुँदैछ नयाँ प्रधानमन्त्रीको शपथग्रहण ?

चैत १०, २०८२, मङ्गलवार
चुनाव अघि ताप्लेजुङ पाथीभरा दर्शनमा बालेन्द्र शाह (बालेन) ।

चुनाव अघि ताप्लेजुङ पाथीभरा दर्शनमा बालेन्द्र शाह (बालेन) ।

चैत १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता हुन्, बालेन्द्र शाह बालेन । काठमाडौ महानगरपालिका मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभा चुनावमा उम्मेद्वार बने । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीलाई पराजित गरे । झापा ५ बाट निर्वाचित सांसद बालेन्द्र साहले आगामी १३ गते प्रधानमन्त्री पदको शपथग्रहण गर्दैछन् । इतिहासकै ठूलो जनसमर्थनसहित प्रधानमन्त्री बन्न लागेका बालेनको शपथग्रहण कस्तो होला भन्ने कौतूहल छ । शपथ ग्रहण समारोहलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खाले अफवाहहरू फैलिएका छन् । कसैले भारत–चीनका सरकार प्रमुखहरू समारोहमा सहभागी हुने दाबी गरेका छन् । शपथग्रहण नै टुँडिखेलमा गराइने भनेर अर्को हल्ला चलेको छ । तर, बालेननिकट स्रोत भने यस्ता बजारिया हल्लामा सत्यता नरहेको बताउँछ ।

आउँदो १२ गते अर्थात विहिबार सांसदहरूको शपथ ग्रहण र त्यसको भोलिपल्ट प्रधानमन्त्रीको शपथग्रहण तय भएको हो । शपथग्रहण समारोहमा सकेसम्म कम तामझाम गर्ने बालेनको चाहना रहेको स्रोतको भनाइ छ । नयाँ सरकार जेनजी आन्दोलनको जगमा निर्माण भएको हुँदा शपथग्रहणलाई भड्किलो नबनाईकन औपचारिक र सामान्य बनाउने बालेनको मुड देखिन्छ ।

‘अब बन्ने सरकारले कुनै पनि औपचारिक कार्यक्रमहरूलाई धेरै खर्चिलो र भड्किलो बनाउने कुरा उचित हुँदैन,’ स्रोतले भन्यो, ‘शपथ ग्रहण पनि एउटा औपचारिकता मात्रै भएकाले यसलाई सामान्य रूपमा नै सम्पन्न गरिने छ ।’ शपथग्रहण समारोहको डिजाइन र व्यवस्थापन सधैँजस्तो राष्ट्रपति कार्यालयले नै गर्ने पनि स्रोतको भनाइ छ । ‘राष्ट्रपति कार्यालयको प्रोटोकल अनुसार नै गर्न बालेनको तर्फबाट सन्देश गइसकेको छ । यसमा उहाँले कुनै पनि अतिरिक्त डिमान्ड राख्नुभएको छैन,’ स्रोतले भन्यो । राष्ट्रपति कार्यालयले शपथग्रहणको तिथिबारे अनौपचारिक रूपमा जानकारी आएको बताएको छ ।

कार्यालय स्रोतले भन्यो, ‘१३ गते प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण हुने कुरा अनौपचारिक रूपमा आएको छ, तर पत्र भने आइसकेको छैन ।’ सामाजिक सञ्जालमा हल्ला चलेजस्तो विदेशी राष्ट्रप्रमुख वा सरकार प्रमुखहरूलाई बोलाउने तयारी नरहेको दुवैतर्फका स्रोतहरूले जनाएका छन् । बालेननिकट स्रोतले भन्यो, ‘त्यो विषयमा कुनै पनि छलफल भएको छैन ।’ राष्ट्रपति कार्यालयले पनि अहिलेसम्म त्यस्तो खालको कुनै तयारी नरहेको जनाएको छ । स्रोतले भन्यो, ‘हाम्रोमा शपथग्रहणको एउटा रोस्टर हुन्छ, त्यसै अनुसार अतिथिहरूलाई निमन्त्रण गरिन्छ । त्यसबाहेक उहाँहरूले चाहेमा अतिरिक्त व्यक्तिहरूलाई निम्त्याउन सकिन्छ ।’ राष्ट्रपति कार्यालयको रोष्टरअनुसार निम्त्याउनुपर्ने अतिथिहरूको सूचीमा अन्य विशिष्ट पदाधिकारीहरूसँगै राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका प्रमुखहरू पनि हुन्छन् । त्यसअनुसार सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेसहित एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति गगन कुमार थापा, नेकपा संयोजक प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र श्रम संस्कृति पार्टीका हर्क साम्पाङलाई आमन्त्रण गर्ने राष्ट्रपति कार्यालयको तयारी छ । -नेपाल प्रेस