setoveda logo
४ वैशाख २०८३, शुक्रवार

बालेनलाई ‘सिलाम साक्मा’ लगाईदिएकी खिम्दिङ भन्छिन्,–‘भावी प्रधानमन्त्री ज्यूले संस्कारलाई सम्मान दिनुभयो’

चैत १३, २०८२, शुक्रवार
ताप्लेजुङ आएको बेला बालेन्द्र शाहलाई (बालेन) सिलाम साक्मा लगाएर स्वागत गर्दै निर्मला खिम्दिङसहित रास्वपा जिल्ला संयोजक ईन्जिनियर वीरेन्द्र श्रेष्ठ ।

ताप्लेजुङ आएको बेला बालेन्द्र शाहलाई (बालेन) सिलाम साक्मा लगाएर स्वागत गर्दै निर्मला खिम्दिङसहित रास्वपा जिल्ला संयोजक ईन्जिनियर वीरेन्द्र श्रेष्ठ ।

चैत १३ गते । गत फागुन २१ गतेको प्रतिनिधिसभा चुनाव अघि चुनावी माहौल बनाउन बालेन्द्र शाह बालेन ताप्लेजुङ आएका थिए । रास्वपा बरिष्ठ नेता शाह आएका बेला पार्टीले स्वागत गर्यो । त्यो स्वागत कार्यक्रममा सहभागी थिइन्,–निर्मला खिम्दिङ (मीरा) । उनी रास्वपाको समानुपातिक सूचीमा परेकी थिइन् । यद्यपी सांसद हुन सकेनन् । त्यही बेला बालेनलाई सिलाम साक्मा लगाएर स्वागत गरेकी थिइन् । खिम्दिङले भनिन्,–‘भावी प्रधानमन्त्री ज्युले लिम्बु समुदायको संस्कार र सस्कृतिसँग जोडिएको सिलाम साक्मालाई इज्जत दिनुभयो । उहाँले सबै जातजातिको भेषभुषादेखि गरगहनाप्रति उत्तिकै प्रेम गर्नुहुन्छ । हाम्रा लागि खूसीको कुरा हो ।’ शाह विहिवार शपथ ग्रहण समारोहमा सिलाम साक्मा लगाएर पुगेका थिए । शुक्रबार प्रधानमन्त्रीमा नियूक्त हुने तयारीमा रहेका शाहले ‘सिलाम साक्मा’ लगाएको तस्बिर भाइरल बनेको छ ।

विहिवार शपथ ग्रहण समारोहमा सिलाम साक्मा लगाएका बालेन्द्र शाह (बालेन)

विहिवार शपथ ग्रहण समारोहमा सिलाम साक्मा लगाएका बालेन्द्र शाह (बालेन)

सामान्य पोशाकभन्दा सिलाम साक्माले गहिरो सांस्कृतिक अर्थ बोकेको छ। किराती, लिम्बु संस्कृतिमा सिलाम साक्मालाई शुभ संकेतको रूपमा लिइन्छ। यो शुभ कार्यमा सबैले लगाउँछन्। यसलाई मृत्यु वा अपशकुनको बाटो रोक्ने बलियो विश्वासका रुपमा लिइन्छ। लिम्बू भाषामा ‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो र ‘साक्मा’ को अर्थ छेक्नु हो। त्यसैले सिलाम साक्माको अर्थ ‘मृत्युको बाटो छेक्ने’ हुन्छ। यो केवल एउटा पहिरनको हिस्सा मात्र होइन, लिम्बू समुदायको सांस्कृतिक पहिचान, आस्था र विश्वाससँग गहिरो रूपमा जोडिएको प्रतीक हो। पछिल्लो समय यसको प्रयोग अत्याधिक रुपमा बढ्दै गएको छ। पछिल्लो समय अन्य समुदायका मानिसहरुले पनि यसलाइ गहिरो विश्वासका साथ लगाउने गरेका छन्। पछिल्लो समय अतिथिलाई स्वागत गर्ने क्रममा सिलाम साक्माको प्रयोग धेरै हुने गरेको छ। साथै पूर्वको पहिचानका रुपमा स्थापित हुँदै गएको ‘सिलाम साक्मा’ गिफ्टका रुपमा देश विदेशमा पुर्याउने प्रचलन पनि बढिरहेको छ।