नेकपा एमाले लुम्बिनी प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा
चैत १६ गते । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सभा सदस्य रहेकी रेखाकुमारी शर्मा पक्राउ परेकी छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति धुम्बाराहीस्थित निवासबाट पक्राउ गरेको हो । एमाले महासचिव शंकर पोखरेल निकटस्थ रहेकी शर्मामाथि दाङकी एक नाबालिकालाई घरेलु कामदार बनाउँदै हिंसा गरेको आरोप थियो । २०८१ जेठ १४ गते काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित शर्माको घरबाट बालिकाको उद्धार गरेको थियो ।
उद्धारपछि शर्मामाथि नाबालिकालाई कुटपिट गरेको, बाहिर निस्किन नदिएको, बसोबासको उचित व्यवस्था नगरेको तथा मानसिक पीडा दिएको आरोप लगाइएको थियो । त्यसबेला काठमाडौँ महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रूपमा यस विषयमा प्रश्न उठाएका थिए । घटनापछि २०८१ जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता भएको थियो । महानगरपालिकाले बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ उपदफा ९२०० (ङ) अनुसार कसुर भएको दाबी गर्दै जाहेरी दिएको थियो ।
यो दफामा ‘शारीरिक चोटपटक पुर्याउने, आतंकित पार्ने, धम्क्याउने, तिरस्कार गर्ने, उपेक्षा गर्ने, भेदभाव गर्ने, बहिष्कार गर्ने, एक्ल्याउने वा मानसिक पीडा दिने कार्य बालबालिकाविरुद्ध हिंसा मानिने’ उल्लेख छ । कसुर पुष्टि भएमा ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजायको व्यवस्था छ । तत्कालीन अवस्थामा जाहेरी दर्ता भएको दुई महिना बित्दा पनि पक्राउ नगरिएको भन्दै त्यसबेला बालेन शाहले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका थिए । तर २०८१ माघमा शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय भएको थियो ।