setoveda logo
४ वैशाख २०८३, शुक्रवार

भरतीय प्रधानमन्त्री मोदी चढेको विमान सडकमै अवतरण, ऐतिहासिक क्षण भएको टिप्पणी

फागुन ३, २०८२, आइतवार

फागुन ३ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान भारतको आसाममा सडकमै अवतरण भएको छ । आसाम राज्यको डिब्रुगढमा मोदी सवार भारतीय वायुसेनाको सी–१३०जे सुपर हरक्यूलिस विमान हिजो सडकमा नै अवतरण भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार यसलाई ‘ऐतिहासिक क्षण’ मानिएको छ । भारतले पछिल्लो वर्ष जहाज नै अवतरण गर्न मिल्ने गरी सडक आयोजना विस्तार गर्दै आएको छ । यस्ता विशेष खालका राजमार्गमा विमान तथा अन्य लडाकु जहाज सहजै अवतरण र उडान गर्न सक्ने खालको हुन्छ । पूर्वोत्तर भारतमा हवाइजहाज उत्रिने सुविधासहितको राजमार्ग बनिसकेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान 

भारतीय प्रधानमन्त्री मोदीले हिजो आसामको भ्रमण गर्नुभयो, जहाँ उहाँले आपतकालीन अवतरण सुविधासहितको मोरान बाइपास सडक अवलोकन र ब्रह्मपुत्र नदीमाथि कुमार भास्कर वर्मा पुलको उद्घाटन पनि गर्नुभएको छ । मोदीले आफू जहाजबाट रनवेमा नभई हाईवेमा उत्रिएको बताउँदै यो नयाँ इतिहास बनेको उल्लेख गर्नुभएको छ । झन्डै एक सय करोड रुपैयाँ लागतमा निर्माण गरिएको इमरजेन्सी ल्यान्डिङ फेसिलिटी ९ईएलएफ०युक्त सडक साढे चार किलोमिटर लामो छ । इमरजेन्सी ल्यान्डिङ फेसिलिटी भनेको कुनै राज्य वा राष्ट्रिय राजमार्गमा बनाइने विशेष खालको एयरस्ट्रिप हो, जहाँ आपतकालीन अवस्थामा जहाज उडान÷अवतरण गर्न सक्छन् । यसका साथै खाद्यान्न आपूर्ति र विपद्का बेला सुविधायुक्त हुन्छ । अरू बेला गाडी गुड्ने सडकमा र आवश्यक परे रन–वेको रुपमा प्रयोग गर्न सकिन्छ ।