setoveda logo
४ वैशाख २०८३, शुक्रवार

भारत पहिलो पटक महिला विश्वकप च्याम्पियन

कार्तिक १७, २०८२, सोमवार

कार्तिक १७ गते । सेफाली वर्मा र दीप्ति शर्मा ब्याट तथा बल दुवैबाट चम्केपछि भारतले आइतबार राति दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै महिला विश्वकपको उपाधि जितेको छ । भारतले महिला विश्वकप जितेको यो पहिलो पटक हो । पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर २ सय ९८ रन बनाएको थियो । त्यसको जवाफमा मुम्बईको डीवाई पाटिल स्टेडियममा दक्षिण अफ्रिका २ सय ४६ रन बनाएर अलआउट भयो । दीप्तिले त्यसमा पाँच विकेट लिइन् । सेफालीले भारतका लागि सर्वाधिक ८७ रन बनाइन् । यस्तै दीप्तिको ब्याटबाट ५८ रन निस्केको थियो । वर्षाले खेल ढिला सुरु भएको थियो र यसक्रममा भारतले चुनौतीपूर्ण स्कोर खडा गरेको थियो ।

 महिला विश्वकप च्याम्पियन भारतीय टिम

 महिला विश्वकप च्याम्पियन भारतीय टिम

दक्षिण अफ्रिकाका लागि कप्तान लउरा वल्भार्डले आकर्षक १ सय १ रन बनाइन्, तर उनी आउट भएसँगै ४५ हजार भारतीय समर्थकमा खुसीयाली छाएको थियो । दीप्तिले नादिन डे क्लर्कको अन्तिम विकेट लिएसँगै भारतको जित निश्चित भएको थियो । सन् २००५ र २०१७ मा उपविजेतामै सीमित भएयता भारत महिलाको वान डे विश्वकप च्याम्पियन भएको हो ।