ताप्लेजुङ सदरमुकाम ।
कार्तिक १२ गते । बंगालको खाडीमा बनेको चक्रवात आँधी मोन्था को प्रभाव नेपालमा पनि देखिन सक्ने मौसमविद्हरूले बताएका छन् । बीबीसी हिन्दीका अनुसार पछिल्लो ६ घण्टामा मोन्था चक्रवाती आँधीमा बदलिएको छ । भारतीय मौसम विभागले मोन्थाले भीषण रूप लिन सक्ने भन्दै रेड अलर्ट जारी गरेको छ ।
भुवनेश्वर मौसम विज्ञान विभागका अनुसार यतिबेला मोन्था पश्चिम-मध्य बंगालको खाडीभन्दा केही माथि सक्रिय रहेको छ । विभागकी निर्देशक मनोरमा मोहन्तीले भनेकी छिन्, -यो आँधी उत्तर पश्चिमतर्फ अगाडि बढ्नेछ । आन्ध्र प्रदेशको तटीय क्षेत्र मछलीपट्टनम र कंलिगपट्टनमको बीचतिर आज साँझ वा राति ९० देखि १०० किमि प्रतिघण्टाको गतिले ठोक्किने सम्भावना रहेको छ ।
नेपालमा कस्तो प्रभाव पर्नेछ ?
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता मौसमविद् विभुति पोखरेलका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ुमोन्थाु मंगलबार राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको छ । त्यसपछि उक्त चक्रवात विस्तारै कमजोर हुँदै उत्तर(उत्तर पश्चिम दिशामा सर्ने पोखरेलले जानकारी दिएकी छिन् । न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्य भू-भाग नजिक आई पूर्वतर्फ सर्दै बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म नेपालको बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुने विभागले जनाएको छ ।