ताप्लेजुङ - मातृभाषामा सहज र प्रवाहपूर्ण रूपमा टाइप गर्न सकिने वातावरण निर्माण गर्ने उद्देश्यले ‘nativetype.com’ सार्वजनिक गरिएको छ। सरल र मिनिमल डिजाइनमा आधारित यो प्लेटफर्मले हाल English, नेपाली, शेरपा (तिब्बती लिपि), लिम्बु (सिरिजुङ्गा), नेवारी (नेपाल भाषा), हिन्दी र उर्दू सहित ६ भन्दा बढी भाषामा टाइपिङ अभ्यासको सुविधा प्रदान गरिरहेको छ।
screenshot nativetype.com
यसको सुरुवात भावनात्मक कारणबाट भएको हो। प्लेटफर्मका विकासकर्ताले आफ्ना बुबालाई तिब्बती भाषामा टाइप गर्न किबोर्ड इन्स्टल गर्न, भाषा परिवर्तन गर्न, र फेरि–फेरि सेटिङ सम्झन संघर्ष गरिरहेको देखे। साधारण टाइप गर्न समेत यति धेरै प्रक्रिया किन आवश्यक पर्छ भन्ने प्रश्नले उनलाई झस्कायो।
“त्यो सजिलो हुनुपर्थ्यो,” विकासकर्ता भन्छन्। “केवल खोल्ने र टाइप गर्न सकिने केही बनाउने चाहना थियो - विशेषगरी उहाँका लागि।”
विकासकर्ता, येदेन शेर्पा स्वयं एक नेपाली कलाकार तथा वेब डेभलपर हुन्, जसले लामो समयदेखि प्रविधि र सिर्जनशीलतालाई जोड्ने काम गर्दै आएका छन्। वेब विकास, कला, डिजाइन तथा डिजिटल उत्पादन निर्माणमा अनुभव राख्ने उनले केनै व्यावसायिक योजना नभइ आवश्यकताबाट सुरु गरेका हुन्।
Nativetype.com को मूल दर्शन सरलता हो। अनावश्यक जटिलता बिना प्रयोगकर्ताले सिधै वेबसाइट खोल्ने र टाइप गर्न सुरु गर्ने अनुभव प्रदान गर्नु यसको उद्देश्य हो।
यसमा केवल किबोर्ड लेआउट मात्र नभई:
- टाइप टेस्ट प्रणाली
- डोकुमेन्ट एडिटर
- क्यारेक्टर सिकाइ मोड्युल
- भर्चुअल किबोर्ड
- तथा Preeti to Unicode कनभर्टर
जस्ता सुविधाहरू समावेश गरिएका छन्।
यसरी व्यक्तिगत आवश्यकताबाट सुरु भएको सानो पहल आज बहुभाषिक डिजिटल अभ्यास प्लेटफर्मका रूपमा विकसित भएको छ। nativetype.com ले मातृभाषामा लेखनलाई सहज, सरल र पहुँचयोग्य बनाउँदै डिजिटल भविष्यमा स्थानीय भाषाको उपस्थिति सुदृढ गर्ने प्रयास गरिरहेको छ।