setoveda logo
४ वैशाख २०८३, शुक्रवार

अमेरिकामा तुफानका कारण कम्तीमा २१ जनाको मृत्यु

जेठ ३, २०८२, शनिवार

जेठ ४ गते । अमेरिकाका दुई राज्यका केही भागहरूमा आएको भीषण आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ। केन्टकी राज्यका अधिकारीहरूले जनाएअनुसार त्यहाँ आँधीका कारण १४ जनाको ज्यान गएको छ भने मिसौरीमा ७ जनाको मृत्यु भएको छ । यीमध्ये सेन्ट लुइस सहरका पाँच जना पनि रहेका छन्। शनिबार बिहान केन्टकीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने लौरल काउन्टीमा आँधी आएको हो। अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या अझ बढ्न सक्नेछ। मिसौरीका अधिकारीहरूले शुक्रबार आएको आँधीले पाँच हजार भवनहरूलाई क्षति पुर्‍याएको बताएका छन्। केही घरका छाना उडेका छन् भने विद्युत आपूर्ति प्रणाली पनि अवरुद्ध भएको छ।

सेन्ट लुइसमा विद्युत अवरोधका कारण करिब एक लाख घरधुरी प्रभावित भएका छन्। अग्निनियन्त्रण विभागका अनुसार आँधीबाट बढी असर परेका क्षेत्रका घरहरूमा स्वयं गई निरीक्षण गरिँदैछ। केन्टकीका गभर्नर एन्डी बेशियरले शनिबार सामाजिक सञ्जाल एक्समा लेख्दै शुक्रबार रातिको आँधीमा कम्तीमा १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मिसौरीमा कम्तीमा सात जनाको ज्यान गएको छ भने भवनहरूमा फसेका व्यक्तिहरूको खोजी जारी रहेको अलजजिराले खबर लेखेको छ।