चैत २ गते । अमेरिकी अर्बपति एलन मस्कको टेस्ला कम्पनीलाई आर्थिक नोक्सानी हुन थालेको छ । राष्ट्रपति ट्रम्पसँग नजिकिएका मस्कलाई त्यही सम्बन्धका कारण टेस्लामा नोक्सानी हुन थालेको हो ।
विश्वभरि टेस्लाको बिक्री घट्न थालेपछि कम्पनीको शेयर भाउ सोमवार एकैदिन १५ प्रतिशतले घटेको थियो । यो सन् २०२० सेप्टेम्बरपछि एकैदिनमा भएको सबैभन्दा ठूलो गिरावट हो । टेस्लाको शेयर सन् २०२५ मा ४५ प्रतिशतभन्दा बढीले कम भएको छ ।
ट्रम्पले लिएको कर नीतिसँग असन्तुष्टहरूले मस्कका कम्पनीलाई तारो बनाउँदा शेयर बजार घटेको हो । अमेरिकापछि चीन टेस्लाको दोस्रो ठूलो बजार हो । ट्रम्पको नयाँ करपछि चीनले पनि अमेरिकाबाट आयात हुने कारमा कर बढाएको छ ।
कम्पनीको शेयर बजार ओरालो लागेपछि टेस्लाले अमेरिकी सरकारलाई पत्र लेखेर ट्रम्पका व्यापार महसूलहरूले कार उद्योगमा ठूलो क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ ।