बैसाख २२ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ध्यान साउदी अरबलगायतका खाडी राष्ट्रमा केन्द्रित गर्ने भएका छन् । ट्रम्पले यही मे महिनामा ती राष्ट्रहरूको भ्रमण गर्न लागेका छन् । साउदी सरकारसँग निकट स्रोतको हवाला दिँदै एएफपीले लेखेको छ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस महिनाको अन्त्यतिर साउदी अरबको रियादमा गल्फ सहयोग परिषद् (जीसीसी) का सदस्य राष्ट्रका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
एएफपीका अनुसार मे १३ देखि १६ सम्म हुने यो भ्रमणमा राष्ट्रपति ट्रम्पले साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको भ्रमण गर्नेछन् । यो उनको दोस्रो कार्यकालको पहिलो आधिकारिक विदेश भ्रमण हुनेछ । राष्ट्रपति ट्रम्पले रियादमा जीसीसीका नेताहरूलाई भेट्नुहुनेछ,स्रोतले भन्यो । जीसीसीमा साउदी अरब, यूएई, बहराइन, कतार, कुवेत र ओमान समावेश छन् । बैठकको उद्देश्य राजनीतिक तथा आर्थिक सहकार्यलाई सुदृढ बनाउनु रहेको जनाइएको छ ।
यात्राको पूर्वसन्ध्यामा, अमेरिकी सरकारले साउदी अरबसँग ३.५ अर्ब अमेरिकी डलर बराबरको मिसाइल बिक्री सम्झौता स्वीकृत गरेको छ । राष्ट्रपति ट्रम्पले साउदी अरबसँग भएका ठूला व्यापारिक सम्झौताहरूको चर्चा गर्दै आएका छन् । साउदी अरबले हालैका वर्षहरूमा रसिया–युक्रेन विषयमा अमेरिकी कूटनीतिमा सकारात्मक भूमिका खेलेको छ । यो भ्रमणको समय अमेरिकाले इरानसँग वार्ता सुरु गरेको समयमा परेको छ, जसको केन्द्रबिन्दु तेहरानको आणविक कार्यक्रम हो ।