setoveda logo
४ वैशाख २०८३, शुक्रवार

आकस्मिक बाढीले उत्तराखण्डमा विपद्

साउन २१, २०८२, बुधवार

साउन २१ गते । भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लामा पर्ने धराली बजार ‘क्लाउड ब्रस्ट’ (आरिघोप्टे वर्षा) पछि आएको बाढीले तहसनहस भएको छ । खिरगंगा नदीमा मंगलबार दिउँसो १ः४५ बजेतिर आएको बाढीले धराली बजारका दर्जनौं घर र होटल बगाएको हो । बाढीमा परी चार जनाको मृत्यु भएको छ भने कम्तीमा ५० जना बेपत्ता छन् । ऋषिकेश–गंगोत्री मार्गमा पर्ने धराली बजार भागीरथी नदीको किनारमा छ भने बजारको मध्यभाग हुँदै खिरगंगा नदी बग्छ । खिरगंगा भागीरथीमै गएर मिसिन्छ । यो सानो नदीमै मंगलबार भीषण बाढी आएको हो । धरालीबाट गंगोत्री धाम करिब ५० किलोमिटर दूरीमा पर्छ । गंगोत्री यात्रामा नेपालीसमेत ठूलो संख्यामा जान्छन् । वैशाख–जेठदेखि असोज–कात्तिकसम्म गंगोत्री यात्रा चल्छ । धराली बजार भएरै गंगोत्री धाम जानुपर्छ ।

भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लामा पर्ने धराली बजारमा ‘क्लाउड ब्रस्ट’ पछि आएको भेलबाढी ।

भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लामा पर्ने धराली बजारमा ‘क्लाउड ब्रस्ट’ पछि आएको भेलबाढी ।

धराली क्षेत्रमा रहेका फार्ममा स्याउ टिप्न पनि ठूलो संख्यामा नेपाली जाने गरेका छन् । मंगलबारको बाढीमा कोही नेपाली परेरनपरेको खुलेको छैन । ‘बाढीमा नेपाली परेको जानकारी आएको छैन,’ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले भने, ‘हामी बुझ्ने प्रयासमा छौं ।’ रुद्रप्रयाग, उत्तरकाशी र कर्णप्रयागलगायत क्षेत्रमा बर्खायाममा पहिरोमा परी विगतमा नेपालीले ज्यान गुमाएका थिए । गत वर्ष मात्रै रुद्रप्रयाग मार्गमा पर्ने सोन प्रयागमा पहिरो जाँदा एक नेपालीको मृत्यु भएको थियो ।

उत्तरकाशीका प्रहरी उपअधिक्षक (डीएसपी) जनक पवारले बाढीले पुर्‍याएको क्षतिको यकिन विवरण आइनसकेको जानकारी दिए । ‘कति क्षति भयो भन्ने कुनै यकिन विवरण आएको छैन,’ उत्तरकाशीका प्रहरी उपअधिक्षक (डीएसपी) जनक पवारले भने, ‘उद्धार टोली घटनास्थल पुगेको छ, नियमित वर्षा र बाढीका कारण बाटो अवरुद्ध हुँदा उद्धारमा कठिनाइ भएको छ,’ उनले भने । पवारका अनुसार उत्तरकाशीका डीएम (डिस्ट्रिक्ट मेजिस्ट्रेट) प्रशान्त आर्य, एसपी सरिता डोबालसहितको टोली घटनास्थल पुगिसकेको छ । डीएम आर्यको भनाइ उद्धृत गर्दै भारतीय हिन्दी दैनिक अमर उजालाले धरालीको बाढीमा ४ जनाको मृत्यु पुष्टि भएको र कम्तीमा ५० जना बेपत्ता रहेको समाचार लेखेको छ । Ekantipur