चैत १८ गते । शीर्ष क्रमका ब्याट्सम्यान कूपर कोनोलीको उत्कृष्ट प्रदर्शनमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई तीन विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुआत गरेको छ । गुजरातले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो । जवाफमा डेब्यु खेल खेलेका कोनोलीले शानदार अविजित अर्धशतक प्रहार गरेपछि पञ्जाबले १९।१ ओभरमा ७ विकेट गुमाएर १६५ रन बनाउँदै खेल आफ्नो पक्षमा पारेको हो ।
पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई तीन विकेटले हरायो
पञ्जाबको अवस्था एक समय निकै कमजोर बनेको थियो, तर कोनोलीले एक छेउ सम्हाल्दै टोलीलाई जित दिलाए । उनी ४४ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ७२ रनमा अविजित रहे। प्रभसिमरन सिंहले ३७ रनको योगदान दिए । गुजरातका लागि प्रसिद्ध कृष्णाले तीन विकेट लिए भने कागिसो रबाडा, अशोक शर्मा, राशिद खान र वाशिंगटन सुन्दरले समान एक–एक विकेट लिए ।